काठमाडौंं । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई हराएको छ । शुक्रबार भएको खेलमा श्रीलंकाले आयोजक तथा उपाधि दाबेदार टिम इंग्ल्याण्डलाई २० रनले हराएको हो ।
श्रीलंकाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४७ ओभरमा अल हुँदै २ सय १२ रनमा अलआउट भयो । इंग्ल्याण्डका लागि बेन स्टोक्सले अविजित ८२, जोय रुटले ५७, कप्तान इयान मोर्गनले २१, मोइन अलीले १६ तथा जेम्स भिन्सले १४ रन बनाए ।
श्रीलंकाका लागि लाथिस मलिङ्गाले ४, धनन्जय डी सिल्भाले ३, इसुरु उडानाले २ तथा नुवान प्रदीपले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३२ बनाएको थियो । श्रीलंकाका एन्जेलो म्याथ्युजले अविजित ८५, अभिस्का फर्नान्डोले ४९, कुशल मेण्डिसले ४६ तथा धननन्जय सिल्भाले २९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
इंग्ल्याण्डका जोफ्रा आर्चर र मार्क वुडले समान ३र३ विकेट हात पारे । यस्तै आदील रशिदले २ तथा क्रिस वोक्सले १ विकेट लिए । हारसँगै इंग्ल्याण्डले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । ६ खेलबाट ८ अंक रहेको इंग्ल्याण्ड अंकतालिकाको तेस्रो स्थानमा छ ।
इंग्ल्याण्डलाई हराएसँगै श्रीलंकाले शीर्ष चारमा पुग्ने सम्भावना कायम राखेको छ । श्रीलंकाले ६ खेलबाट ६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असार ७ शनिवार
Comments