काठमाडौँ । नेइमारमाथि तीन युरोपियन खेलमा लागेको प्रतिबन्ध कायम रहने भएको छ । नेइमारको क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले गरेको अपिल युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले अस्वीकार गरेपछि प्रतिबन्ध कायम रहने भएको हो ।
२७ वर्षका नेइमारमाथि खेल पदाधिकारीको अपमान गरेको आरोप छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित भएर बाहिरिएपछि नेइमारले सामाजिक सञ्जालमा गरेको टिप्पणीका कारण प्रतिबन्ध लागेको हो ।
रेफ्रीले अन्तिम १६ को दोस्रो लेग अन्तर्गतको खेलमा ९४ औँ मिनेटमा युनाइटेडलाई पेनाल्टी दिएका थिए । सोही पेनाल्टी गोलका कारण युनाइटेड अघिल्लो चरण गएको थियो । नेइमारले पेनाल्टी दिने रेफ्रीको निर्णयलाई फुटबलकै अपमानको रुपमा व्याख्या गरेका थिए ।
नेइमारले आउँदो सिजन च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणका तीन खेल गुमाउने भएका छन् । उनी अहिले चोटका कारण मैदान बाहिर छन् र कोपा अमेरिकामा ब्राजिलको टिमबाट खेल्न पाएका छैनन् । एजेन्सी
प्रकाशित मितिः २०७६ असार ५ बिहिबार
Comments