काठमाडौँ । ब्राजिल महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुग्न सफल भएको छ । फ्रान्समा जारी प्रतियोगिताको समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा ब्राजिलले इटालीलाई १–० ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
समूह सी मा रहेको ब्राजिलको जितमा ६ पटक विश्व वर्ष खेलाडी अवार्ड जितेकी मार्ताले गोल गरिन् । उनले ७४ औँ मनिेटमा पाएको पेनाल्टीमा गोल गरेकी हुन् । मार्ताले विश्वकपमा समग्रमा गरेको गोल संख्या १७ पुगेको छ ।
३३ वर्षकी मार्ताले आफ्नै बुट किस गरेर गोलको उत्सव मनाइन् । यो गोलसँगै उनी विश्वकप फुटबल महिला र पुरुष मा सर्वाधिक गोल गर्ने खेलाडी बनिन् । उनले जमर्नीका स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको कीर्तिमान आफ्नो नाममा लेखाएकी हुन् ।
अन्तिम १६ मा स्थान बनाइसकेको इटालीले दुई पटक गोल गर्ने मौका बनाएको थियो । समान ६ अंक भए पनि इटाली गोल अन्तरका आधारमा समूह विजेता बन्यो ।
यस्तै जमैकालाई ४–१ ले हराएको अस्ट्रेलिया गोल अन्तरका आधारमा समूह उपविजेता बन्यो ६ अंकसहित । समान ६ अंक नै भए पनि तेस्रो स्थानमा रहेको ब्राजिलले समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिमको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । एजेन्सी
प्रकाशित मितिः २०७६ असार ४ बुधबार
Comments