काठमाडौँ। कोलम्बियाका कप्तान राडामेल फाल्काओले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको बचाउ गरेका छन् । कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २–० ले हराएको थियो ।
हिजो बिहानको खेलमा पराजित भएपछि केही मेस्सीको आलोचना गरिरहेका छन् । तर मेस्सीले विश्वको उत्कृष्ट खेलाडी हुँदाको मूल्य चुकाएको फाल्काओले बताएका छन् । फाल्काओले भने, ‘मेस्सीले हामीसँगको खेलमा गोल गर्नै लागेका थिए, उनले आउँदा खेलमा पक्कै गोल गर्ने छन् ।’
फाल्काओले अघि भने, ‘यदी मेस्सीले एक गोल गरेको भए, मानिसहरुले उनीसँग अर्को गोलको अपेक्षा गर्ने थिए । यदी उनले फ्रि किकमा गोल गरेको भए, उनीहरुले भन्ने थिए विपक्षी टिमको डिफेन्स वाल कमजोर थियो । र अर्जेन्टिना हारेपछि मानिसहरु मेस्सी मात्रैको गल्तीका रुपमा चित्रित गर्छन् ।’
फाल्काओले भने, ‘विश्वको उत्कृष्ट खेलाडी हुँदा चुकाउनु पर्ने मूल्य हुन् यी सबै ।’ मेस्सी कप्तानीको अर्जेन्टिनाले समूह चरणको दोस्रो खेलमा बिहीबार बिहान पाराग्वेसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रकाशित मितिः २०७६ असार ३ मङ्गलबार
Comments