काठमाडौं । अर्जेन्टिनाका मिडफिल्डर गुइडो रोड्रिग्वेजले राष्ट्रिय टिममा लियोनल मेस्सी हुँदा सबैचिज सजिलो हुने र सकारात्मक भाव सञ्चार हुने बताएका छन् । मेस्सीका कारण तनाव भन्दा पनि सजिलो हुने उनले बताएका छन् ।
मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबलको तयारीमा छ । मेस्सी नेतृत्वको अर्जेन्टिनी टिमलाई कोपा अमेरिकामा दबाब छ ।
गएका दुई संस्करण लगातार फाइनलमा पराजित भएको र बार्सिलोनाबाट सम्भव भएका सबै उपाधि जितेको तर अर्जेन्टिनाबाट प्रमुख उपाधि नजितेको अवस्थामा मेस्सीलाई थप दबाब छ ।
गएको विश्वकप फुटबलमा पनि टिममा रहेका रोड्रिग्वेजले मार्कासँग भनेका छन्, ‘हामीसँग विश्वको उत्कृष्ट खेलाडी छन् मेस्सी, उनी टिममा हुँदा सबै कुरा सहज बन्छन् । लियो टिममा हुनु हाम्रा लागि प्लस प्वइन्ट हो ।’
नेपाली समय अनुसार शनिबार बिहान ब्राजिलमा सुरु भएको कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले बोलिभियालाई ३–० ले हराएर विजयी सुरुवात गरेको छ । अर्जेन्टिनाले आइतबार बिहान पौने चार बजे पहिलो खेलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ ३२ शनिबार
Comments