काठमाडौं । बार्सिलोनाका कप्तान तथा स्टार स्ट्राइकर लियोनल मेस्सीका लागि यो सिजन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा लिभरपुल बेहोरेको हारको पीडा भुल्न सजिलो भएको छैन ।
अझ हरेक दिन घरमा त्यो हारको पीडा बल्झाउने तम्तयार अवस्थामा हुन्छन् उनका छोरा मातेओ । तीन वर्षका मातेओ पितालाई जिस्क्याउँछन् । मेस्सीले बताए अनुसार मातेओ सधैँ मेस्सीलाई जिस्क्याउँछन् ।
मातेओ आफू लिभरपुलबाट खेलेको जस्तो गर्छन् किनकी लिभरपुलले उनको पिताको टिमलाई हराएको थियो । टिवाइसी स्पोर्टससँगको अन्तर्वार्तामा मेस्सीले भनेका छन्, ‘मातेओलाई फुटबल मन पर्छ, उसले सबै जर्सी लगाउँछ ।’
मेस्सीले अघि भने, ‘हामी घरमा मिलेर फुटबल खेल्दा उसले–म लिभरपुलको तर्फबाट हुँ… उनीहरुले तपाईँलाई हराएका थिए, भन्छ ।’ यस्तै कोपा डेल रे फुटबलको फाइनलमा बार्सिलोना भ्यालेन्सियासँग पराजित भयो ।
त्यसपछि मातेओले ‘भ्यालेन्सियाले तपाईँलाई हरायो, म भ्यालेन्सियाको तर्फबाट हुँ’ भन्ने गरेको मेस्सीले उल्लेख गरेका छन् । च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा ३–० ले विजयी भएर पनि बार्सिलोना दोस्रो लेगमा लिभरपुलसँग ४–० ले पराजित भएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ २३ बिहिबार
Comments