काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियासँगको मैत्रीपूर्ण खेलमा नेपालले गरेको खराब प्रदर्शनबाट आफु छक्क परेको बताएका छन् ।
आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल आफु भन्दा तल्लो वरियताको मलेसियासंग २-० ले पराजित भएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।
खेलपछि बोल्दै प्रशिक्षक कालिनले नेपालको यस्तो खराब नतिजा आफुले नसोचेको बताए ।
‘नेपालको यो नतिजाबाट म अचम्मित छु । खेलाडीले खेल्न सकेनन् । हाम्रा लागि मैदान त्यति सजिलो भएन ।’ प्रशिक्षक कालिनले भने ।
फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा रहँदा मलेसिया १ सय ६८ औं स्थानमा रहेको छ । तर, खेलमा नेपालभन्दा मलेसिया सबै पक्षमा उत्कृष्ट देखिएको थियो ।
यस्तै प्रशिक्षक कालिनले मलेसियाले जति पनि आफुहरुले तयारी गर्न नसकेको बताए ।
‘फुटबल पूर्वधारको हिसाबमा मलेसिया धनी देश हो । हामीले उनीहरु जत्ति तयारी गर्न सकेनौं ।’ प्रशिक्षक कालिनले थपे, ‘आशा छ हामी अर्को खेलमा सुधार गर्ने छौँ ।’
अब नेपालले चाईनिज ताईपेसंग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र चाईनिज ताईपेबीचको खेल जुन ६ मा हुनेछ ।
प्रकाशित मितिः २०७६ जेठ २० सोमबार
Comments