काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई १५६ रनले पराजित गर्दै पुलिस समूह ‘बी’ बाट सेमिफाइनलमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको २५४ रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश २ ले २९ ओभरमा अलआउट हुँदै ९७ रन बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर २५३ रन बनाएको थियो ।
पुलिसका लागि अमित श्रेष्ठले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यसै सुनिल धमलाले ४३, अनिल कुमार साहले ३७, कुशल भुर्तेलले ३५ तथा आरिफ शेखले ३२ रन बनाए । प्रदेश २ का संसद शेखले ४ तथा राशिद खानले २ विकेट लिए ।
यो जितसंगै पुलिस समूह बीको विजेता बनेर सेमिफाइनलमा पुगेको छ । समूह चरणमा अपराजित रहेको पुलिसले ४ खेलमा ८ अंक जोड्यो । यस समूहबाट त्रिभुवन आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । प्रदेश २ भने प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रकाशित मितिः २०७६ जेठ १९ आइतबार
Comments