काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिगको लागि छनोट चरणको खेल आजबाट सुरु हुने भएको छ । लिगको लागि छनोट चरणको खेल तालिका सार्वजनिक गर्दै अखिल नेपाल फुटबल संघले आजदेखि सुरु हुने जनाएको छ । छनोटको पहिलो दिन दुई खेल हुने छन् ।
एन्फा कम्पलेक्समा हुने पहिलो खेलमा एफसी सी एस र सरस्वतीनगर स्पोर्टस् क्लबबीच खेल हुनेछ । दोस्रो खेलमा आरसी फुटबल एकेडेम र ललितपुर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । ‘सी’ डिभिजन लिगको छनोटमा यसपटक ३८ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ । पहिलो चरणका खेलहरू २७ जेठसम्म सञ्चालन हुनेछ ।
समूह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेका १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । लिगको दोस्रो चरण नकआउटका आधारमा हुनेछ । हरेक समूहका शीर्ष टोली ‘सी’ डिभिजनलाई बढुवा हुनेछ । दोस्रो चरण जेठ ३० बाट हुनेछ ।
प्रकाशित मितिः २०७६ जेठ ७ मंगलबार
Comments