काठमाडौं । इन्ग्लिश एफए कप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ । फाइनलमा प्रिमियर लिग विजेता म्यानचेस्टर र वाट्फोर्ड भिड्दैछन् ।
वेम्बली स्टेडियममा दुवै टोली उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुईबीचको खेल राति ९: ४५ मा सुरु हुनेछ ।यस सिजन दुई उपाधि जितिसकेको सिटी सिजनको तेस्रो उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छ । प्रिमियर लिग र काराबाओ कप जितेको सिटी उपाधिमा ह्याट्रिक गर्दै कीर्तिमान बनाउने प्रयासमा हुनेछ ।
एफए कपको उपाधि जिते सिटी एकै सिजन तीन घरेलु उपाधि जित्ने टिम बन्नेछ ।यता, लामो समयपछि एफए कपको फाइनलमा पुगेको वाट्फोर्ड सिटीलाई स्तब्ध बनाएर उपाधि जित्न चाहन्छ । उपाधि जित्न वाट्फोर्ड सिटीको सामना गर्न तयार समेत हुनेछ । वाट्फोर्ड ३५ वर्षपछि एफए कपको फाइनलमा पुगेको हो ।
प्रिमियर लिगको ११ औं स्थानमा रहेको वाट्फोर्डलाई सिटीविरुद्ध जित निकाल्न कठिन भने हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ ४ शनिबार
Comments