काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ ।
बिहिबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले कुवेतलाई ८ विकेटले हराएको हो ।
कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेको थियो । नेपालका दुवै ओपनरले अर्धशतकीय पारी खेले । पवन सर्राफ ५३ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालका रित गौतम ६२ रनमा आउट भएपछि एक सय ४० रनमा दोस्रो विकेट खेर फाल्यो । यस्तै आसिफ शेखले अविजित ३३ रन बनाए ।
कुवेतका अब्दुल शादिक र हमुद अमनउल्लाहले १ १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले १९ ओभर ४ बलमा अलआउट हुँदै १५७ रन बनाएको थियो ।
कुवेतका लागि नोमन बुद्रोले ७०, गोकुल कुमारले ३६ तथा हमुद अमनउल्लाहले १७ र मिट भाब्सरले १० रन बनाए ।
नेपालका कप्तान रोहित कुमार पौडेलले ३, कुशल मल्ल, सुर्य तामाङ र राशिद खानले समान २ २ विकेट लिए ।
कुवेतलाई पराजित गरेपनि नेपाल विश्वकपमा छनोट हुन सकेन । नेपालले दोस्रो स्थानमा रहेर छनोट खेल सकाएको छ । नेपालले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक जोड्यो
छनोटबाट युएई ५ खेलमा शतप्रतिशत जितसहित विश्वकपमा छनोट छनोट भएको छ । सात पटक विश्वकप खेलिसकेको नेपाल यो पटक विश्वकपमा पुग्न असफल भएको छ ।
प्रकाशित मितिः२०७६ वैशाख ५ बिहीबार
Comments