एएफसी छनोटको दोस्रो चरण खेल्ने यु-१९ महिला टिमका सदस्यको नाम सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठको नेतृत्वमा २३ सदसीय टिमको नाम सार्वजनिक गरेको हो ।
प्रशिक्षक हरि ओम श्रेष्ठले परिक्षाका कारण केहि खेलाडी टिममा फेरबदल भएको बताए । ‘खेलाडीहरुको परिक्षा चलिरहेको छ । त्यसैले टिममा केहि परिवर्तन भएको छ’ उनले भने ।
यस अघि थाइल्याण्डमा भएको पहिलो चरणमा उत्कृष्ट प्रर्दशन गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो । प्रतियोगिताको तयारीका लागि नेपाली टिम भोली चीन जादैछ ।
कार्तिक दोस्रो साता थाइल्याण्डको चोनबुरीमा भएको प्रतियोगितामा नेपालले तीन खेलबाट ६ अंक बनाउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।
पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ४–० गोल अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो । भारतबिरुद्ध दुबै गोल रेखा पौडेलले गरेकी हुन् ।
यस्तै प्रतियोगिताको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९–० ले पराजित गर्यो । त्यस समय नेपाललाई जिताउन निशा थोकरले ह्याट्रिक सहित ४ गोल गरेकी थिईन् ।
यस्तै मञ्जली कुमारी योञ्जन, सम्झाना लावती, पुजा राना, र एलिसा जिम्बा, कप्तान सरु लिम्बुले एक एक गोल गरेका थिए ।
दोस्रो चरणको छनोट अप्रिल २६ बाट ३० सम्म हुनेछ । छनोटको शीर्ष टोलीले एएफसी यू –१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
छनोटको समूह ’ए’ मा रहेको नेपालले बलियो टोलीहरु अष्ट्रेलिया,उज्वेकिस्तान र म्यानमारसंग खेल्नेछ ।
नेपालले पहिलो खेलमा अप्रिल २६ मा अष्ट्रेलियासंग खेल्नेछ । यस्तै नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसंग खेल्नेछ ।
नेपाली टिमको नामावली :
गोलकिपर : अन्जना राना मगर, रेबिका राई, उषा नाथ ।
डिफेण्डर : निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर ।
मिडफिल्डर : सरु लिम्बु कप्तान, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैध्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती ।
स्ट्राइकर : रश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल, निर्मला उपाध्याय ।
प्रकाशित मितिः२०७६ वैशाख ३ मंगलबार
Comments