काठमाडौं । तेस्रो एसियन जुनियर एथ्लेटिक्स च्याम्पियनसिपमा सप्तरीका १७ वर्षीय अजितकुमार यादवले स्वर्ण पदक जितेका छन् ।एथ्लेटिक्स संघको विवादका कारण अन्तिम समयमा मात्र सहभागी हुन पाएका युवा खेलाडी नेपाली धावकले एसियालीस्तरको प्रतियोगितामा स्वर्ण पदक जितेको यो पहिलो हो ।
हङकङमा आइतबार सम्पन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने उनी एक्ला खेलाडी थिए । तीन हजार मिटरमा प्रतिस्पर्धा गरेका अजितले आफ्नो व्यक्तिगत टाइमिङ सुधार गरी ८ मिनेट ३०.३२ सेकेन्डमा भारत, जापान र यमनका धावकलाई पछि पार्दै स्वर्ण पदक चुमेका हुन् ।शुक्रबारदेखि ३ दिनसम्म चलेको च्याम्पियनसिपमा २० स्वर्ण, १० रजत र ९ कांस्य जितेर ३१ पदकका साथ चीन शीर्ष स्थानमा रहँदा ८ स्वर्ण, १० रजत र ९ कांस्यसहित २७ पदक जितेको भारत दोस्रो भयो ।
तेस्रो स्थानमा आएको जापानले ६ स्वर्ण, ८ रजत र ६ कांस्यसहित २० पदक हात पारेको छ । चाइनिज ताइपेईले ३ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो भने काजकिस्तान र इरानले समान २ स्वर्णमा पुगे । जुनियर एथ्लेटिक्समानेपालले एसियालीस्तरमा पहिलो पदक जितेको हो । सन् १९७३ मा फिलिपिन्समा भएको एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा जितबहादुर केसीले कांस्य जितेका थिए ।
एथ्लेटिक्स संघको विवादका कारण नेपाल सहभागिताको टुंगो अन्तिम समयमा लागेको थियो । अध्यक्ष राजीवविक्रम शाह, वरिष्ठ उपाध्यक्ष सञ्जीव तुलाधर र कार्यवाहक महासचिव धनीराम चौधरीको पहलमा अजितले सहभागी हुने मौका पाएका थिए । नाम दर्ता, भिसा प्रक्रिया पूरा गरेर प्रशिक्षकसमेत रहेका महासचिव चौधरीसँग शुक्रबार मात्र उनीहङकङ प्रस्थान गरेका थिए ।
प्रकाशित मितिः२०७५ चैत ४ सोमबार
Comments