काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले रियल भालाडोलिडलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार राति भएको खेलमा रियलको जितमा करिम बेन्जेमाले दुई गोल गरे । राफेल भराने र लुका मोड्रिचले एक एक गोल गरेका थिए । भालाडोलिडका अनुअरले एक गोल गरेका थिए ।
खेलमा सुरुवाती अग्रता घरेलु टोली भालाडोलिडले लिएको थियो । २९औं मिनेटमा अनुअरले गोल गर्दै भालाडोलिडको अग्रता दिलाए । त्यसअघि रुबेन अल्काराजले पेनाल्टीमा गोल गर्न नसक्दा भालाडोलिड केही निरास बन्यो । ३४औं मिनेटमा रियलले बराबरी गोल फर्कायो । भारानेले नाचोको पासमा बराबरीमा गोल फर्काएका थिए । त्यसपछि दोस्रो हाफमा रियलले तीन गोल थप्यो ।
५१औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत गोल गरे । ५९औं मिनेटमा बेन्जेमाले टोनी क्रुसको पासमा हेड गोल गरेका थिए । ८०औं मिनेटमा क्यासेमिरो दोहोरो पहेँलो रातो कार्ड खाँदै बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो । तरपनि रियलले ८५औं मिनेटमा अर्को गोल थप्यो । लुका मोड्रिचले चौथो गोल गरेका थिए । उनले बेन्जेमाको पासमा गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
जितसँगै तेस्रो स्थानमा रहेको रियलले २७ खेलबाट ५१ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ६३ अंक छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५६ अंक छ । २६ अंक बनाएको भालाडोलिड १६औं स्थानमा छ । शनिबार रातिनै भएको अन्य खेलमा सेभिल्लाले रियल सोसाइडाडलाई ५–२, भ्यालेन्सियाले गिरोनालाई ३–२, भिल्लारियलले लिभान्तेलाई २–० र रियल बेटेसिले सेल्टा भिगोलाई १–० गोलले हराएको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन २७ सोमबार
Comments