काठमाडौं । अघिल्लो सिजनसम्म स्पेनिस क्लब रियल म्याड्रिड उभिएको ठाउँमा कुनैपनि प्रतियोगिता जित्न अन्य क्लबलाई कठिन हुन्थ्यो । त्यसैले त जाइन्ट किलर रियल च्याम्पियन्स लिगको अघिल्लो तीन संस्करण लगातार विजयी भयो । उसले च्याम्पियन्स लिगमा किर्तिमानी १३औं उपाधि पनि जित्यो ।
स्पेनिस ला लिगा र कोपा डेलरे जस्ता प्रतियोगितहरुमा रियलले आफ्नो बलियो छाप छोडेको थियो । रियललाई वास्तबिक रियल बनाउने काम फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदाने र पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले गरेका थिए । बास्तवमा रियलमा प्रशिक्षक जिदाने र रोनाल्डोको जादु खुबै चलेको थियो ।
जारी सिजनको सुरुवातमा प्रशिक्षक जिदाने र रोनाल्डोले जब क्लब छाडे , त्यसपछि रियलको ओरालो यात्रा सुरु भयो । यस सिजन रियल उपाधि विहीन बन्ने लगभग पक्का जस्तै देखिएको छ । च्याम्पियन्स लिग र कोपा डेलरे बाट बाहिरिसकेको रियल अहिले ला लिगाको पनि तेस्रो स्थानमा छ ।
मंगलबार मात्र च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा रियल घरेलु मैदानमा डच क्लब अजाक्ससँग लज्जास्पद हार खेप्दै बाहिरिएको थियो । पहिला रियलको प्राण जस्तै मानिने रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसमा जमी रहेका छन् । ४६ बर्षीय जिदाने पनि त्यतिकै बसेका छन् । यही मौकामा रियलले फेरि जिदानेलाई प्रशिक्षक बन्न प्रस्ताव गरेको समाचार बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।
जिदानेले भने रियलको प्रस्तावलाई अस्वीकार गरेका छन् । टोलीले खराब प्रदर्शन गरेपछि रियलका अध्यक्ष फ्लोरेन्टिनो परेजले जिदानलाई फोन गरेर प्रशिक्षक बनिदिन आग्रह गरेको कुरा रियलका पूर्व अध्यक्ष रामोन कल्डेरोनले बताएका छन् । तर, परेजको प्रस्तावलाई जिदानेले अस्वीकार गरेको पनि रामोनले खुलासा गरे ।
बीबीसीसँगको कुराकानीमा रामोनले जिदाने अर्को सिजनसम्म रियल फर्कन सक्ने सम्भावना रहेको पनि बताए । रामोनले भने ‘क्लबले जिदानेलाई आगामी जुन महिनासम्म फर्कन सक्ने समय दिएको छ । रियल जिदानेका लागि सँधै ढोका खुला राख्न चाहन्छ,’ । एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन २३ बिहिबार
Comments