काठमाडौं । लण्डन क्लब चेल्सीका स्टार इडेन हजार्डले प्रिमियर लिगमा शीर्ष चारको लडाँई लड्न क्लब तयार रहेको बताएका छन् । शीर्ष चारको दौड निकै कठिन भएपनि चेल्सीले सिजनको अन्तिमसम्म त्यसको प्रयत्न गर्ने हजार्डले बताएका हुन् ।
लण्डन क्लब यतिबेला चौथो स्थानको म्यानचेष्टर युनाईटेड भन्द मात्र दुई अंकले पछाडी छ । च्याम्पियन्स लिगमा छनोट हुन लण्डन क्लबले संघर्ष गरिरहेको छ । चेल्सीले गत आईतबार फल्हममाथि २–१ को संघर्षपुर्ण जित निकालेको थियो । शहरी प्रतिद्वन्दी टोटेनहमसंग बराबरीमा रोकिएपछि चेल्सी सहज अवस्थामा छ ।
‘हामीले ड्रेसिङ रुपमा आर्सनल र टोटेनहमले बाँडेको अंकको बिषयमा कुराकानी गरेको थियौ ।’ हजार्डले भने, ‘शीर्ष चारको लडाँई निकै कठिन छ । हामी चार टिम मात्र छैनौ । यसमा ६ टिम प्रतिस्पर्धामा छन् ।’
‘अझै हामीले ११ म्याच खेल्न पर्नेछ । हामी अधिकतम अंक ल्याउन कोशिश गर्नेछौ ।’ हजार्डले थपे । गोन्जालो हिग्युईन र जोर्गिन्होको गोलमा चेल्सीले पछिल्लो खेलमा सहज जित निकालेको थियो ।
‘प्रर्दशन निकै उत्कृष्ट थियो । र हामीले तीन अंक लिन सफल भएका छौ ।’ उनले थपे । एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन २१ मंगलबार
Comments