काठमाडौं । महेन्द्र सिंह धोनी र केदार जाधवको उत्कृष्ट साझेदारीमा भारतले अस्ट्रेलियामाथि जित दर्ता गरेको छ। हैदरावादमा भएको पहिलो एक दिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ६ विकेटले हराएर शृङ्खलामा १–० को अग्रता लिएको छ ।
पाँच एक दिवसीय शृङ्खला अन्तर्गतको पहिलो खेलमा भारतले २३७ रनको लक्ष्य पाएको थियो । भारतले ४८ ओभर दुई बलमा चार विकेटको क्षतिमा २४० रन बनायो । भारतको जितमा पाँचौ विकेटमा धोनी र जाधवले १४१ रनको साझेदारी गरे ।
जाधवले सर्वाधिक ८१ रन बनाए । उनले ८७ बलमा नौ चौका र एक छक्का प्रहार गरे । यस्तै धोनीले ७२ बलमा ६ चौका र एक छक्काको सहयोगमा नटआउट ५९ रन बनाए । कप्तान विराट कोहलीले ४४ तथा रोहित शर्माले ३७ रनको योगदान दिए । अस्ट्रेलियाका नाथन कोल्टर नाइल र एडडम जम्पाले दुई दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको अस्ट्रेलियाले सात विकेटको क्षतिमा २३६ रन बनायो । भारतका मोहम्मद शामी, जशप्रित बुमराह र कुलदीप यादवले दुई दुई विकेट लिए । एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन १९ आइतबार
Comments