काठमाडौं । बार्सिलोना कोपा डेल रे को फाइनलमा पुगेको छ । गएराती भएको सेमिफाइनलको दोस्रो लिगमा रियल म्याड्रिडलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ४-१ को नतिजासहित बार्सिलोना प्रतियोगिताको फाइनलमा पुगेको हो । रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि लुइस स्वरेजले २ गोल गरेका थिए भने एक गोल रियलका राफेल भेरानले आत्मघाती गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५० औं मिनेटमा डिम्बेलेको पासमा लुइस स्वरेजले टिमका लागि पहिलो गोल गरेका थिए । त्यसपछि ६९औं मिनेटमा रियलका भेरानले आफ्नै पोष्टमा गोल गरेपछि उपहार गोल मार्फत बार्सिलोनाले अग्रता दोब्बर बनाएको थियो ।
त्यसपछि ७३ औं मिनेटमा फेरि स्वरेजले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाएका थिए । अब उपाधिका लागि बार्सिलोनाले भ्यालेन्सिया र रियल बेटिसबीचको बिजेतासँग खेल्नेछ । बार्सिलोना र रियलबीच आगामी शनिबार ला लिगा अन्तर्गत अर्को खेल हुने छ । एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन १६ बिहिबार
Comments