काठमाडौं । युरोपको दोस्रो ठूलो प्रतियोगिता युइएफए युरोपा लिगमा लण्डन क्लब चेल्सीले अन्तिम १६ मा स्थान बनाएको छ । गए राति भएको खेलमा चेल्सीले स्वीडेनको माल्मोलाई ३–० ले हराउँदै अघिल्लो चरणमा स्थान बनाएको हो ।
चेल्सीको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा चेल्सीले समग्रमा ५–१ को जित दर्ता गरेको हो । यसअघि पहिलो लेगको खेलमा चेल्सी २–१ ले विजयी बनेको थियो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा ओलिभर जिराउडको गोलमार्फत् अग्रता बनाएको थियो । जिराउडले ५५ औं मिनेटमा गोल गरेका थिए भने रोज बार्कलीले ७४ औ मिनेटमा र हडसन ओडईले ८४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाएका थिए ।
त्यसअिघ ७३ औ मिनेटमा रासमस बेग्टसन रातो कार्ड खाँदै मैदान बाहिरिएपछि माल्मो १० खेलाडीमा सीमित बनेको थियो ।
यस्तै दोस्रो लेगमा सहज जित निकाल्दै लण्डन क्लब आर्सनल पनि युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गए रातिकै अर्को खेलमा आर्सनलले बेलारुसियन क्लब बीएटीई बोरिसोभलाई ३–० गोल अन्तरले पराजित गर्दै अघिल्लो राउण्डमा प्रवेश गरेको हो ।
पहिलो लेगको खेलमा १–० ले पराजित भएपनि समग्रमा ३–१ को नतिजासहित आर्सनलले अन्तिम १६ को यात्रा तय गरेको हो ।
यस्तै गए रातिकै अर्को खेलमा इन्टर मिलानले रापिड वेनलाई ४–० गोल अन्तर र समग्रमा ५–० ले हराउँदै अघिल्लो राउण्डमा प्रवेश पाएको छ भने अर्को खेलमा नापोलीले एफसी जुरिकलाई २–० गोलान्तर र समग्रमा ५–१ ले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।
प्रकाशित मितिः २०७५ फागुन १० शुक्रबार
Comments