धनगढी । धनगढी प्रमियर लिग डीपीएलमा मङ्गलवार धनगढी स्टार्सले लगातार दोस्रो हार बेहोरेको छ। सोमबार काठमाडौं गोल्डेन्ससंग ४ विकेटले पराजित भएको धनगढी मङ्गलवार सीवाइसी अत्तरियासंग ५ रनले पराजित भएको हो।
मंगलबारको पहिलो खेलमा सीवाइसी अत्तरियाले पहिलो जित निकालेको छ। फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको हो। सीवाइसी अत्तरियाले धनगढी स्टार्सलाई ९६ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९० रन मात्रै बनाउन सक्यो। धनगढीका लागी रोहन मुस्ताफाले २८, राजु रिजालले नटआउट २६, सन्दीप रजाईलिले ११, सोमपाल कामीले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ सीवाइसीका लागी भुवन कार्कीले ४ विकेट लिए। सन्नी पटेलले २, दीपेन्द्रसिंह ऐरी र दिपेन्द्र रावतले १–१ विकेट लिए। यसअघि टस जितेर ब्याटिङमा आएको सीवाइसीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनायो। सीवाइसीका सन्नी पटेलले ३५ रन बनाइ अविजित रहे। जयकसिन कोल्सावालाले २१, प्रेम तामाङले १२ र कप्तान दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए।
यस्तै बलिङ तर्फ धनगढीका रोहन मुस्तफाले २ विकेट लिए । सोमपाल कामी, विपिन खत्री र अमिर हायतले १ –१ विकेट लिएका थिए।
प्रकाशित मितिः २०७५ माघ २९ मंगलबार
Comments