काठमाडौँ । बार्सिलोनाका खेलाडी जोर्डी अल्बाले बार्सिलोना नछाड्ने भएका छन् । बार्सिलोनासँगको सम्झौता सकिँनै लाग्दा अल्बाले आफू अन्त कतै जान इच्छुक नरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अल्बाले बार्सिलोनामै रहन मन गरेको बताइएको छ । बार्सिलोना तथा स्पेनका डिफेन्डर अल्बाले क्लबले कुनै प्रतिक्रिया नदेखाए पनि आफू बार्सिलोना छाडेर अन्त जान इच्छुक नरहेको बताएका हुन् ।
अब आउने सिजन उनको बार्सिलोनासँगको सम्झौता सकिनेछ । तर, क्लबले भने उनलाई राख्ने या नराख्ने भन्नेमा कुनै ठोस् नतिजामा पुग्न सकेको छैन । अल्बालाई बार्सिलोनाको डिफेन्सको खम्बा मानिने गरेको छ । सन् २०१२ मा बार्सिलोना आएका अल्बाले २ सय ७० खेल खेलिसकेका छन् ।
यसअघि नयाँ क्लब जाने तयारीमा रहेको भनिएका ब्राजिलका मिडफिल्डर फिलिप्पे कौटिन्होले पनि बार्सिलोनामै रहने इच्छा जाहेर गरेका थिए । २६ वर्षीय कौटिन्होमाथि म्यानचेष्टर युनायटेड र लिभरपुल जस्ता ठूला क्लबले नजर लगाएको थियो । कौटिन्होलाइ आफ्नो क्लबबाट चित्त बुझिरहेको थिएन । आफूलाई प्रायः बेन्चमै राखिरहने भएकाले उनी क्लबबाट बाहिर जान लागेको बताएका थिए । तर, क्लबका म्यानेजर र प्रशिक्षकसँग कुरा मिलेपछि उनी कतै नगएर बार्सिलोनामै रहने बताइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ माघ १ मंगलबार
Comments