काठमाडौं । नेपाली राष्ट्रिय टोलीका युवा फरवार्ड विमल घती मगर विगत एक महिनादेखि बेल्जियममा छन् । उनी नेपालको शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्दा खेल्दै बीचैमा छोडेर बेल्जियमको तेस्रो डिभिजन क्लब लिर्से केम्पेनजोनेनमा प्रशिक्षण गरिरहेका छन् ।
विमलले नेदरल्याण्डमा भएको मैत्रीपूर्ण खेलमा सहभागितासमेत लिएका थिए । तर, उनको टोली लिर्से एसकेले सो खेलमा पराजय भोगेको छ । क्लबको आधिकारीक वेबसाईटमा प्रकाशित रिपोर्टअनुसार लिर्सेले सो खेलमा डच क्लब रोडा जेसीसँग २–० गोल अन्तरको पराजय भोगेको थियो ।
उनको क्लबमा अनुबन्ध हुने या नहुने भन्नेबारे भने यसै महिनाको अन्त्यसम्म पक्का हुनेछ । लिर्सेले विगतमा पनि विमललाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर, उनको उमेर १८ वर्ष नपुगेका कारण व्यवसायिक अनुबन्ध गर्न नसक्ने हुँदा त्यस समय उनले युरोपेली क्लबमा प्रशिक्षणमा मात्र गएर फर्कनु परेको थियो । उनले युवा अवस्थामा बेल्जियम र नेदरल्यान्ड्सका क्लबहरुबाट प्रशिक्षण लिएका थिए ।
विमलले यसअघि पनि बेल्जियमको चर्चित क्लब आरएससी एन्डरलेक्ट र अन्य बेल्जियन कलबहरुमा पनि ट्रायल दिएका थिए ।
प्रकाशित मितिः २०७५ पुष २६ बिहिबार
Comments