काठमाडौं । आर्सनल र चेल्सी इंग्लिस फुटबल प्रतियोगिता एफए कपको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएका खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई दुई–शून्य र आर्सनलले ब्ल्याकपूललाई तीन–शून्य गोलअन्तरले पराजित गरेको हो ।
१९ वर्षीय स्ट्राइकर जोय विलकको दुई गोलको सहयोगमा आर्सनलले ब्ल्याकपूललाई उसकै मैदानमा हराएको हो । एरोन राम्सेको फ्रिकिक पोस्टमा लागेर रिबाउन्ड भएपछिको बल सदुपयोग गरी विलकले ११औं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा उनैले दोस्रो गोल गरे । लिग वान क्लव ब्ल्याकपूलले खेल अवधिभर आर्सनललाई कुनै चुनौती दिन सकेन र खेलको अन्त्यतिर एलेक्स इवोबीले आर्सनलका लागि तेस्रो तथा निर्णायक गोल फर्काएका थिए ।
त्यस्तै इंग्लिस क्लबका लागि सम्भवतः अन्तिम खेल खेलेका सेस फेब्रिगास पेनाल्टीमा चुकेको खेलमा चेल्सीले नटिङघम फरेष्टलाई हरायो । फेब्रिगास जनवरी ट्रान्सफरमा थियरी हेनरीले प्रशिक्षण गरिरहेको मोनाकोमा अनुबन्ध हुने लगभग निश्चितजस्तै छ । नटिङ्घमका ड्यानी फक्सले चेल्सीका रुविन लोफ्टस चीकलाई फल गरेपछि पाएको पेनाल्टीमा फेब्रिगासको प्रहार गोलरक्षक लुक स्टिलले रोकेका थिए । तर दोस्रो हाफमा अल्भारो मोराटाले क्लोज रेन्जबाट दुई गोल गरेपछि चेल्सीले सहज जित पहिल्यायो । दुवै गोलका लागि कालम हड्सन ओडोईले पास उपलब्ध गराएका थिए ।
शनिबार राति भएका अन्य खेल हरुमा पोर्ट्समाउथले नोरिच सिटीलाई, ब्रिस्टोल सिटीले हर्डर्सफिल्ड टाउनलाई र क्रिष्टल प्यालेसले ग्रिम्स्बी टाउनलाई समान एक–शून्य गोलअन्तरले पराजित गरे ।
कार्डिफ सिटी भने गिलिङह्याम सिटीसँग पराजित भयो । स्वान्टीले एस्टोन भिल्लालाई तीन शून्यले हरायो । साउथह्याम्प्टन र डर्बी काउन्टीले दुई,दुई गोलको बराबरी खेले । न्यूकासल युनाइटेड पनि ब्ल्याकबर्न रोभर्ससँग एक–एक गोलको बराबरीमा रोकियो । एजेन्सी
प्रकाशित मिति : २०७५ पुष २२ आइतबार
Comments