काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत २१ औं चरणको सुरुवाती खेलमा आर्सनलले सहज जित निकालेको छ । मंगलबार रातिको खेलमा आर्सनलले फुलह्यामलाई ४–१ ले पछारेको हो ।
आर्सनलको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन ग्रानिट जाका, एलेक्जेन्डर लाकाजेट्स, आरोन रामसे र पेरिक एम्रिक आबुमियाङले समान एक–एक गोल गरे भने फुलह्यामका लागि अबुबाकर कामराले एक गोल गरे ।
आर्सनलका जाकाले खेलको २५ औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाउँदा पहिलो हाफमा घरेलु टोली १–० ले अगाडि रह्यो । यस्तै आर्सनलले दोस्रो हाफमा तीन गोल थप्यो ।
उसका लागि खेलको ५५ औं मिनेटमा लाकाजेट्सले गोल गर्दा फुलह्यामका कामराले गोल गर्दै खेलमा फर्किन खोजेको संकेत दिलाए । उनले खेलको ६९ औं मिनेटमा गोल गर्दै २–१ को स्थितिमा ल्याएका थिए ।
तर, खेलको ७९ औं मिनेटमा रामसे र ८३ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई ४–१ को सहज जित दिलाए ।
यस जितसँगै आर्सनलले २१ खेलबाट ४१ अंक जोडेको छ । ऊ पाँचौ स्थानमा यथावत छ । यता पराजित फुलहम १४ जोडेर रेलिगेसन जोनमा छ । लिगको शीर्ष स्थानमा अपराजित लिभरपुल रहेको छ । उसँग ५४ अंक छ भने दोस्रो टोटनह्यामसँग ४८, तेस्रो म्यानचेष्टर सिटीसँग ४७ र चौथो चेल्सीसँग ४३ अंक छ ।
प्रकाशित मितिः २०७५ पुष १८ बुधबार
Comments