काठमाडौं । अष्ट्रेलियाको घरेलु लिग बिग ब्यासमा आज मंगलबार नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने सम्मेलित टोली मेलबर्न स्टार्सले आफ्नो चौथो खेल खेल्दैछ । नेपाली समयअनुसार दिउँसो २ बजेदेखि सुरू हुने खेलमा मेलबर्नले आज मेलबर्न रेनेगेड्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
सन्दीपले जारी लिगमा उच्च प्रदर्शन गरिरहेका छन् । उनले जारी लिगमा ७ विकेट झारेका छन् । उनी विकेटको सूचीमा पाँचौं स्थानमा छन् । सन्दीपले डेब्यु खेलमा २ विकेट, दोस्रो खेलमा ३ विकेट तथा तेस्रो खेलमा २ विकेट लिएका थिए । यसकारण पनि आज सन्दीपले उनको टोलीमा स्थान बनाउने पक्का छ ।
सन्दीपले उच्च प्रदर्शन गरेको भएपनि उनको टोलीले तीन खेल खेल्दा एक मात्र जित निकालेको छ । सुरुवाती दुई खेलमा पराजित भएको सन्दीपको टोलीले तेस्रो खेलमा जित हात पारेको थियो ।
आजको खेलमा पनि सन्दीपको टोली मेलबर्न दोस्रो जितको खोजीमा हुनेछ भने रेनेगेड्स तेस्रो जितको खोजीमा हुनेछ । मेलबर्न स्टार्स ३ खेलबाट २ अंक जोडेर लिगको छैटौं स्थानमा छ । ३ खेलबाट ४ अंक जोडेको मेलबर्न रेनेगेड्स दोस्रो स्थानमा छ ।
चौथो खेलपछि भने सन्दीप मेलबर्नको टिममा हुने छैनन् । सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आउने छन् । सन्दीपले स्यलहेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग खेल्ने छन् ।
प्रकाशित मितिः २०७५ पुष १७ मंगलबार
Comments