काठमाडौ । काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत सोमबारदेखि नवौँ चरणका तीन खेल हुँदैछन् । आजको पहिलो खेल न्युरोड टीम एनआरटी र हिमालयन शेर्पाबीच हुनेछ । एनआरटी जितविहीन रहँदै एक अङ्कका साथ लिगको पुछारमा छ । एघार अङ्कसहित हिमालयन शेर्पा सातौँ स्थानमा छ । यी दुईबीचको खेल अहिले ११ बजेदेखि सुरू हुँदैछ ।
यस्तै आजै दोस्रो खेल सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । नौ अङ्कसहित सरस्वती नवौँ तथा सात अङ्कसहित जावलाखेल दशौँ स्थानमा छ । खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । यी दुईबीचको खेल दिउँसो साढे २ बजेदेखि हुँदैछ ।
यस्तै दिउँसो साढे २ बजे नै अर्को खेल हुने छ । तेस्रो खेल सङ्कटा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । उपाधिको दाबेदार मानिएको सङ्कटा २१ अङ्कसहित तेस्रो स्थानमा छ । फ्रेन्ड्स क्लब पाँच अङ्का साथ ११औँ स्थानमा छ । सङ्कटा र फ्रेन्ड्सबीचको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ ।
जारी लिगमा उत्कृष्ट प्रर्दशन गरिरहेको संकटालाई कमजोर देखिएको फ्रेन्ड्सविरुद्व जित निकाल्दै शीर्ष स्थानको मनाङ माथि दबाब राख्ने अवसर छ ।
प्रकाशित मितिः २०७५ पुष २ सोमबार
Comments