काठमाडौँ। इटालियन लिग सिरी ‘ए’ फुटबलको शीर्ष गोलकर्ता सूचीमा पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले पहिलो स्थान बनाएका छन् । डिफेण्डिङ च्याम्पियन युभेन्टसले आफ्नो अपराजित यात्रा कायमै राख्दा उनले निर्णायक गोल गरेका थिए ।
आफ्नो १६ औं खेल खेलेको युभेन्टसले टोरिनोविरुद्ध १–० को जित निकाल्दा रोनाल्डोले ७० औं मिनेटमा गोल गरे । टोरिनोको मैदान स्टेडियो ओलिम्पिको ग्राण्डे टोरिनोमा भएको प्रतिस्पर्धात्मक खेलमा रोनोल्डोले पेनाल्टीमार्फत् गोल गर्दै युभेन्टसलाई ३ अंक दिलाए ।
युभेन्टसका खेलाडी मारियो मान्डुज्कीलाई टोरियोका गोलकिपरले डि–एरियामा फल गरेपछि युभेनटसले पेनाल्टीको मौका पाएको थियो । जसलाई रोनाल्डोले सदुपयोग गरी पोस्टको दिशा दिए ।
रोनाल्डोले जारी लिगमा ११ गोल गरेका छन् । उक्त सूचीमा ११ गोल गरेका जिरोनाका क्रिज्स्टोफ पाइटेक दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा १० गोलका साथ लाजियोका किरो इम्मोबाइल रहेका छन् ।
यस्तै उनी लिगमा शीर्ष गोल असिष्टमा पनि दोस्रो स्थानमा छन् । उनले पाँच गोलमा पास दिलाएका छन् । यस्तै शीर्ष स्थानमा भने एसी मिलानको सुसो रहेका छन् जसले ८ गोलमा असिष्ट गरेका छन् ।
प्रकाशित मितिः २०७५ पुष १ आइतबार
Comments