काठमाडौं । इटालीको घरेलु लिग सिरी ‘ए’ फुटबलमा आज दुई खेल हुँदैछन् । जारी लिगको १६ औं साताका खेलअन्तर्गत आज राति दुई खेल हुन लागेका हुन् । शनिबार रातिको पहिलो खेलमा इन्टर मिलान र उडिनेसले खेल्दैछन् भने दोस्रो खेलमा लिग लिडर युभेन्टस र टोरिनोबीच प्रतिस्पर्धा हुनेछ ।
जारी लिगको बलियो टोलीमध्ये एक मिलानले १७ औं स्थानको उडिनेसलाई आफ्नो मैदानमा आतिथ्यता दिँदैछ । मिलान २९ अंकका साथ तेस्रो स्थानमा छ भने उडिनेससँग १३ अंक छ । यी दुईबीचको खेल राति १०ः४५ बजेदेखि सुरू हुनेछ ।
यसैगरी दोस्रो खेलमा अपराजित रहेको युभेन्टसले टोरिनोसँग राति १ः१५ बजेदेखि भिड्नेछ । युभेन्टस १५ औं खेलसम्म अपराजित रहेको छ । उसले जारी लिगमा १४ खेलमा जित र एक खेलमा बराबरी खेल्दै ४३ अंक बनाएको छ ।
यस्तै आज युभेन्टससँग मैदानमा उत्रिन लागेको टोरिनोसँग २२ अंक रहेको छ । टोरिनोले ५ खेलमा जित ७ खेलमा बराबरी र ३ खेलमा हार व्यहोरेको छ । आज राति टोरिनोकै घरेलु मैदानमा प्रतिस्पर्धामा उत्रिन लागेको युभेन्टसले घरेलु टोलीलाई हराउँदै अपराजित यात्रा कायम राख्न चाहन्छ भने घरेलु टोली टोरिनो युभेन्टसलाई हारको स्वाद चखाउन चाहन्छ ।
आजको खेलमा युभेन्टसका अधिकांश पहिलो रोजाइका खेलाडी उत्रिनेछन् । आक्रमण लाइनमा क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला र मारिया मान्डुज्की उत्रिने छन् । आजको खेलमा रोनाल्डो सबैभन्दा केन्द्रमा हुनेछन् । किनभने, उनी अहिले शीर्ष गोलकर्ताको टोलीमा तेस्रो स्थानमा छन् । जारी लिगमा १० गोल गरेका उनले आजको खेलमा एक गोलमात्र गरेको खण्डमा उनी शीर्ष गोलकर्ताको सूचीमा पहिलो स्थानमा आउने छन् ।
प्रकाशित मितिः २०७५ मंसिर २९ शनिबार
Comments