काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबले पहिलो जित निकालेको छ ।
आइतबार भएको पाँचौं चरणको खेलमा फ्रेण्ड्सले मच्छिन्द्र क्लबलाई ३–० ले हराउँदै पहिलो जित निकालेको हो ।
फ्रेण्ड्सका लागि विदेशी खेलाडी फोफाना ब्राहिमान, संजोग महर्जन र अनिल महर्जनले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा ब्राहिमानले गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ८४ औं मिनेटमा संजोकले गोल गर्दै फ्रेन्ड्सको अग्रता २–० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा अनिलले गोल गर्दै फ्रेन्ड्सलाई ३–० को जित दिलाए ।
अघिल्लो चार खेलमा तीन पराजय र एक बराबरीको नतिजा निकालेको फ्रेण्ड्सले तालिकामा चार अंक जोडेको छ । फ्रेन्ड्स लिगको नवौं स्थानमा उक्लिएको छ । मच्छिन्द्र भने अझै पनि जितविहीन छ । मछिन्द्रले दुई खेल बराबरी खेल्दै २ अंक जोडेको छ । मछिन्द्र लिगको १२ औं स्थानमा छ ।
प्रकाशित मितिः २०७५ मंसिर १६ आइतबार
Comments