काठमाडौं । स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले आफूलाई खेल दौरान गोल गर्नमा भन्दा बढी खुसी खेल मिलाउँदा र पास मिलाउँदा लाग्ने बताएका छन् । हालसालै एक सार्वजनिक कार्यक्रममा बोल्दै अर्जेन्टिनी मेस्सीले यस्तो भनाइ राखेका हुन् ।
मेस्सी मैदानमा गोलसँगै उत्तिकै पाससमेत मिलाइरहने खेलाडी हुन् । उनी प्रयाः सिजन क्लबका लागि सर्वाधिक गोलकर्तासँग सर्वाधिक असिस्टकर्ता पनि बन्दै आएका छन् । तसर्थ मेस्सीलाई गोल गर्ने खेलाडीका रूपमा मात्रै नभएर पास मिलाउने खेलाडीका रूपमा पनि लिइन्छ ।
मेस्सीले ‘युनी स्पोर्टस्’ र एडिडास’ को एक व्यावसायिक प्रवद्र्धन कार्यक्रममा सहभागी हुँदै यस्तो बताएका हुन् । त्यसक्रममा उनले पछिल्लो समय आफू टोलीमा गोल गर्नका लागि भन्दा खेल मिलाउनका लागि बढी केन्द्रित हुने गरेको बताए । ‘म जहिल्यै पनि हिजोभन्दा आज र आजभन्दा भोलि राम्रो गर्न चाहन्छु । म सधैं मैदानमा मेहनत गर्न खोज्छु,’ उनले भनेका छन्, ‘मैले हिजो के जितें भन्दा पनि आज के जित्न सक्छु भन्ने कुरा सोचिरहेको हुन्छु ।’
मेस्सीले पछिल्लो समय आफू गोलकर्ता खेलाडीबाट असिस्टकर्ताका रूममा बदलिँदै गएको स्वीकारे । ‘अवश्य पनि, पहिला मलाई गोल गर्दा खुसी लाग्थ्यो । तर, अहिले म गोल गर्नमा भन्दा पास मिलाउनमा बढी खुसी हुन्छ,’ उनले भने, ‘मलाई अब दर्शकले गोल गर्नेभन्दा पनि पास मिलाउने खेलाडीका रूपमा मैदानमा देख्नुहुनेछ ।’
अर्को प्रसंगमा मेस्सीले बार्सिलोनाले यसपटक ला लिगा र च्याम्पियन्स लिगलगायत सबै ठूला उपाधि जित्न सक्ने बताए । ‘हामी सधैं सबै उपाधि जित्नका लागि नै खेल्छौं । र, यसपटक पनि हाम्रो योजना सबै उपाधि जित्नै हो,’ उनले भने । मेस्सीले यो सिजन ला लिागमा मात्रै ९ गोल गरिसकेका छन् । त्यसक्रममा उनले ६ गोल असिस्टसमेत गरिसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७५ मंसिर १२ बुधबार
Comments