काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को सफलता मिलेको छ । सन्दीप पाकिस्तानी सुपर लिगका लागि छानिएका छन् । प्रतियोगिताको ड्राफ्टमा रहेका सन्दीपलाई अक्सन बोलकबोल मार्फत् लाहोर क्वालान्डर्सले खरिद गरेको हो ।
सन्दीपको नाम ड्राफ्टमा ‘गोल्ड’ क्याटोगरीमा रहेको थियो । यो क्याटोगरीमा परेका खेलाडी बिक्री हुँदा कम्तीमा ५ हजार अमेरिकी डलर नेपाली रुपैयाँ करिब ५७ लाख पारिश्रमिक पाउँछन् । यसबाट अब पाकिस्तानी लिगमा सन्दीपको मूल्य पनि ५० हजार अमेरिकी डलर कम्तीमा रहनेछ ।
यता, सन्दीपलाई रोेजेको क्लब लाहोरले ड्राफ्टबाट एबी डिभिलियर्स, कार्लोस ब्रेथवाइट, फखर जमानजस्ता नाम चेलका खेलाडीलाई पनि टोलीमा लिएको छ । पाकिस्तानी लिग आगामी फ्रेबुअरीबाट सुरु हुँदैछ ।
यस प्रतियोगितामा लाहोर क्वालान्डर्स, क्वेटा ग्ल्याडीएटर्स, कराँची किंग्स, पेसेवर जाल्मी र इस्मलामावाद युनाइटेड गरी ६ टोलीले खेल्दैछन् । अब एक टोलीको भने टुंगो लागिसकेको छैन ।
गत वर्ष इन्डियन प्रिमियर लिग आइपिएल खेलेका सन्दीप त्यसयता लगातार ठूला प्रतियोगितामा व्यस्त रहँदै आएका छन् । यस बीचमा उनले आइपिएलबाहेक क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी—२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् ।
सन्दीप बुधबारदेखि युएईमा आयाजना हुने टी—१० क्रिकेट लिगमा पनि सामेल छन् । सो प्रतियोगितामा उनी केरला किंग्सका तर्फबाट खेल्दैछन् । सो प्रतियोगिताका लागि सन्दीपलाई केरलाले सन्दीपलाई ३० हजार डलरमा अनुबन्ध गरेको हो ।
प्रकाशित मितिः २०७५ मंसिर ५ बुधबार
Comments