काठमाडौं । फ्रेन्च क्लब पिएसजीको टोलीका २ जना सुपरस्टार फरवार्ड एकैपटक घाइते भएका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्णअन्तर्गत अन्तिम खेलमा नेइमार र केलियन एमबाप्पे एकै रात घाइते भएका हुन् । क्लब फुटबल सुरु हुनुभन्दा केही दिनअघि मात्रै टोलीका २ जना प्रमुख खेलाडी एकसाथ घाइते भएपछि पिएसजीलाई संकट बढेको छ ।
गत राति भएको खेलमा नेइमार क्यामरुनविरुद्धको खेलक्रममा घाइते भएका थिए । खेलको आठौं मिनेटमा नेइमार चोट बोक्दै मैदान छाडेका थिए । उनको चोट कस्तो हो र उनलाई सामान्य अवस्था आउन कति समय लाग्छ भन्नेबारे बताइएको छैन ।
क्लबका अर्का गोल स्कोरर खेलाडी एमबाप्पे पनि घाइते भएका छन् । उनी गत राति नै उरुग्वेविरुद्धको खेलक्रममा घाइते भएका हुन् । उनी उरुग्वेको गोलरक्षकसँग ठोक्किएर भुइँमा लडेका थिए । उनको काँधमा चोट छ । एमबाप्पे घाइते हुँदै खेलको ३६औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनको चोट नेइमारको भन्दा केही गम्भीर रहेको बताइएको छ ।
टोलीका २ जना प्रमुख खेलाडी चोटग्रस्त भएपछि पिएसजीलाई आगामी घरेलु लिगको खेल र च्याम्पियन्स लिगका खेलमा समस्या पर्ने भएको छ । उसले च्याम्पियनस लिगमा अर्को साता इंग्लिस क्लब लिभरपुलसँग खेल्दैछ । उसले लिभरपुलसँग यसअघिको खेल हारेको थियो ।
सो खेलअघि पिएसजीले लिग वानमा टुलुजसँग खेल्ने तालिका रहेको छ । उता, च्याम्पियन्स लिगमा पिएसजी अहिले कठिन अवस्थामा छन् । अन्तिम दुई खेल खेल्न बाँकी छादा ऊ ५ अंकसाथ तेस्रो स्थानमा छ । अन्तिम १६ मा जान उसले लिभरपुलसँगको खेल जित्नैपर्ने हुन्छ । एजेन्सी
प्रकाशित मितिः २०७५ मंसिर ५ बुधबार
Comments