काठमाडौं । अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका लिजेन्ड डिएगो म्याराडोनाले आफ्नो देशको फुटबल टोलीका कप्तान लिओनल मेस्सी ‘भाइजस्तै’ भएको बताएका छन् । हालसालै स्पेनिस ‘मार्सा’सँगको विशेष अन्तर्वार्तामा म्याराडोनाले मेस्सी आफ्ना भाइजस्ता वा नजिकका साथीजस्तै व्यक्ति रहेको बताएका हुन् ।
उनले मेस्सी आफ्नो नजिकको व्यक्ति भएकाले उनीबारे खराब आलोचना वा नराम्रा कुरा आफूले कहिल्यै नगरेको बताए । केही समयअघि मात्रै म्याराडोनाले मेस्सीको बारेमा आलोचना गरेर चर्चामा आएका थिए ।
त्यसबेला उनले भनेका थिए– ‘मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टोलीको कप्तानी गर्ने सही व्यक्ति होइनन् ।’ ‘जो कप्तान खेलअघि नर्भस भएर २० पटकसम्म बाथरुम जान्छ भने त्यस्तो कप्तानबाट अर्जेन्टिनाले केही पाउन सक्दैन ।’
त्यसबेला म्याराडोनाले मेस्सीलाई राष्ट्रिय टोलीमा फर्किएर अब काम नभएको भन्दै सन्यास लिनसमेत सुझाव दिएका थिए । तर, त्यसको करिब २ महिनापछि उनै म्याराडोनाले आफूले त्यस्तो नभनेको भन्दै बचाउ गरेका छन् । उनले मेस्सीलाई भाइजस्तै व्यक्ति पनि भनेका छन् ।
‘नढाँटी भन्दा मेस्सी मेरा भाइजस्ता वा नजिकका साथी हुन् । उनीबारे नराम्रो कुरा गर्न म सक्दिनँ,’ म्याराडोनाले भने, ‘उनी मेरा लागि एक उत्कृष्ट खेलाडी हुन् ।’
यसअघि म्याराडोनाले मेस्सीमाथि आफूले बोलेको भनेर हल्ला फैलाएको पनि बताए । ‘मैले खेलअघि मेस्सी नर्भस भएर २० पटकसम्म बाथरुम जान्छन् भनेर उनकै नाम तोकेर भनेको थिइनँ । मैले त यस्ता पनि खलाडी छन् भनेर मात्रै भनेको थिएँ,’ उनले भने, ‘मिडियाले मेरो भनाइलाई तोडमोड गरेर मसाला बनाएका हुन् ।’
अर्को एक प्रसंगमा म्याराडोनाले मेस्सी चाँडै राष्ट्रिय टोलीमा फर्किनेमा आफू आशावादी रहेको बताए । ‘मलाई यस्तो लाग्छ कि, मेस्सी फेरि टोलीमा फर्किनेछन्,’ उनले भने, ‘मेस्सीबिना अर्जेन्टिनी टिम अधुरो छ ।’ एजेन्सी
प्रकाशित मितिः २०७५ मंसिर ३ सोमबार
Comments