काठमाडौं । ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहिबार स्वदेश फर्कदै छन् । म्यानमारमा सम्पन्न पहिलो चरणको एसिया छनोट खेलेर नेपाली टोली आज स्वदेश फर्कन लागेका हुन् ।
म्यानमारमा भएको छनोट प्रतियोगितामा समूहको तेस्रो स्थानमा बनाएर दोस्रो चरणमा पुग्न सफल नेपाली टोली बिहिबार मालिन्डो एयरलाइन्सबाट अपरान्ह १२ः२० मा नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ ।
सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमारमा सम्पन्न एसिया छनोटको समूह सी मा रहेको नेपालले ३ खेलबाट ३ अंक जोड्दै दोस्रो चरणका लागि छनोट भएको थियो । समूह सी बाट म्यानमार ३ खेलमा ७ अंकसहित समूह विजेता बनेको हो । यस्तै, भारत ३ खेलबाट ४ अंकसहित दोस्रो, नेपाल ३ खेलबाट ३ अंक जोड्दै तेस्रो र बंगलादेश १ अंकसाथ चौथो स्थानमा रहेको हो ।
छनोट प्रतियोगिताको ८ समूहबाट प्रत्येक समूहका शीर्ष दुई टोली र उत्कृष्ट २ तेस्रो स्थानको टोली अर्को चरणमा पुग्ने प्रावधान रहेको छ । यस समूहबाट म्यानमार विजेता र भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेका छन् । समूहको तेस्रो स्थानमा रहेसंगै नेपालले छनोटको तेस्रो हुने टोलीमध्ये उत्कृष्ट दुईमा पर्दै दोस्रो चरणमा स्थान बनाएको हो । दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ ।
प्रकाशित मितिः २०७५ कार्तिक २९ बिहिबार
Comments