काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटनह्यामले पहिलो जित दर्ता गरेको छ । टोलीका स्टार फरवार्ड ह्यारी केनले व्यक्तिगत २ गोल गरेपछि गत राति अन्तिम ३२ अन्तर्गत भएको चौथो खेलमा उसले नेदरल्यान्ड्सको क्लब पिएसभी इन्डोभिनलाई २–१ ले हरायो ।
यससँगै टोटनह्यामले यस सिजन प्रतियोगितामा पहिलो जितसमेत दर्ता गरेको छ । उसले यसअघि ३ खेल खेल्दा एक खेल पनि जित्न सकेको थिएन ।
गत राति आफ्नो घरमा टोटनह्यालाई जिताउन केन नायक बने । पछि परेको स्थिति उल्ट्याएर कमब्याक जित निकाल्नेक्रममा उनले खेलको अन्त्यतिर २ गोल गरे ।
खेलमा दोस्रो मिनेटमै इन्डोभिनले गोल गरेर अग्रता लिएको थियो । सो गोल लुक डे जोङले गरेका थिए । सोही गोलको मदतमा पाहुना टोली पहिलो हाफमा १–० अगाडि रह्यो ।
तर, खेलको ७८औं मिनेटमा केनले टोलीका लागि बराबरी गोल गरे । लगत्तै उनले खेलको ८९औं मिनेटमा टोलीका लागि विजयी गोल गरे । यो जितपछि टोटनह्यामले ४ खेलबाट ४ अंक बनाएर समूहको तेस्रो स्थानमा रहेको छ ।
अझै ऊ पहिलो स्थानको बार्सिलोनाभन्दा ६ तथा दोस्रो स्थानको इन्टर मिलानभन्दा ३ अंकले पछि परेको छ । उसलाई अन्तिम १६ मा पुग्न बाँकी २ वटै खेल जित्नुपर्ने हुन्छ । एजेन्सी
प्रकाशित मितिः २०७५ कार्तिक २१ बुधबार
Comments