काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिग ‘बिग बास’ खेल्ने भएका छन् । सन्दीपले अस्ट्रेलियामा हुने बिग बास क्रिकेट मेलबोर्न स्टार्सबाट खेल्ने भएका हुन् । उनी बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर पनि बनेका छन् ।
यस वर्ष नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने दक्षिण अफ्रीकाको टि–२० लिगको ड्राफ्टबाट नाम फिर्ता लिएका सन्दीपले क्रिकेटमा अर्को फड्को मारेका हुन् । डिसेम्बर १९ बाट सुरु हुने बिग बास लिगमा अनुबन्धित भएका सन्दीप डिसेम्बर १० मा टिममा सामेल हुनेछन् । त्यसपछि सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश जानेछन् । बंगलादेश प्रिमियर लिग जनवरी ५ देखी फेब्रुवरी ८ सम्म हुनेछ । बंगलादेशमा सन्दीपले सिल्हेट सिक्सरबाट खेल्नेछन् । त्यसपछि सन्दीप बिग बासका लागि पुन अष्ट्रेलिया फर्कनेछन् । बिग बास लिग फेब्रुवरी १७ सम्म हुनेछ ।
सन्दीपले आईपीएल, सीपीएल, विश्व टी ट्वान्टी लिग, एपीएल, बीपीएल जस्ता अन्तर्राष्ट्रिय स्तरका लिग प्रतियोगिता खेलेका छन् । सन्दीप पहिलो पटक बंगलादेशमा २०१६ मा भएको यू १९ विश्वकपमा चम्किएपछि विश्वभरी चर्चामा आएका थिए ।
प्रकाशित मितिः २०७५ कार्तिक ६ मंगलबार
Comments