काठमाडौं । सन् २०२० मा आयोजना हुने आइसीसी विश्व टी–ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गत चौथो खेलमा नेपालले भुटानमाथि शानदार जित निकालेको छ । भुटानलाई ३३ रनमै अलआउट बनाउँदै नेपालले १ सय १७ रनको फराकिलो जित निकालेको हो ।
नेपालका लागि बलिङमा ललित राजवंशी र सन्दीप लामिछाने तथा ब्याटिङमा प्रदीप ऐरी उच्च प्रदर्शन गरे । भुटानले टस जितेर ब्याटिङका लागि निम्तो दिएपछि नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनायो । नेपालका लागि प्रदीप ऐरीले अर्धशतकीय पारी खेले । प्रदिपले अविजित ७५ रन जोडे । यस्तै करण केसी ११ रनमा अविजित रहे । यस्तै नेपालका अनीलकुमार साहले २७ रन जोडे ।
१ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको भुटान ३३ रनमै अल आउट भयो । भुटान १६ ओभर ४ बलमा अलआउट हुँदै ३३ रनमा समेटियो । भुटानका लागि तेन्जिङ वाङचुक जुनियरले अर्वाधिक ११ रन जोडे । त्यस्तै संजिवन गुरुङले ६ रन जोड्दा रमेश गुरुङ ४ रनमा अविजित रहे । भुटानका चार खेलाडी सुन्य रनमा आउट भए ।
नेपालका लागि सन्दीप र ललितले समान ३ विकेट लिए भने बसन्त रेग्मीले २ तथा प्रदीप ऐरी र शरद भेषवाकरले समान १ विकेट लिए । यससँगै नेपालले चौथो जित हाँसिल गरिसकेको छ । नेपालले यसअघि म्यानमार, मलेसिया र थाइल्याण्डविरुद्ध जित निकालेको थियो ।
प्रकाशित मितिः २०७५ असोज २३ गते मंगलबार
Comments