काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा ठूला टोलीले लगातार खराब प्रदर्शन गर्दा सेभिल्ला पहिलोपटक लिगको शीर्ष स्थानमा चढेको छ । गत राति भएको खेलमा आफ्नो घरमा सेल्टा भिगोलाई २–१ ले हराउँदै सेभिल्ला अंक तालिकाको सिरानमा चढेको हो ।
यसअघि भएका आफ्नो खेलमा रियल मड्रिड र बार्सिलोनाले जित्न नसक्दा त्यसको फाइदा सेभिल्लालाई पुग्यो । रियल यसअघि अलाभेससँग १–० ले हारेको थियो भने बार्सिलोना गत राति भ्यालेन्सियासँग उसकै घरमा १–१ को बराबरीमा रोकियो ।
गत राति भएको खेलमा सेभिल्लालाई जिताउन पाब्लो सर्वियाले ३९औं मिनेटमा पहिलो गोल गर्दा ६१औं मिनेटमा एडरले गोल गरेका थिए । उता, पराजित सेल्टाका लागि खेलको ८५औं मिनेटमा सोफियाने बोउफलले गोल गरेका थिए ।
त्यसअघि खेलको ५८औं मिनेटमा नेस्टोर आर्जो रातो कार्ड खाँदै बाहिरिएपछि सेल्टा १० खेलाडीमा सीमित भएको थियो ।
यो जितपछि सेभिल्लाले ८ खेलबाट १६ अंक जोड्दै लिगको शीर्ष स्थान लिएको छ । उसले बार्सिलोना र एथ्लेटिको मड्रिडलाई पछि पार्दै दोस्रो स्थान लिएको हो । हाल बार्सिलोना र एथ्लेटिको समान १५–१५ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज २२ शोमबार
Comments