काठमाडौं । इंग्लिस क्लब चेल्सीले हंगेरीको क्लब भिडी एफसीमाथि संघर्षपूर्ण जित निकालेको छ। युइएफए युरोपा लिग फुटबल अन्तर्गत बिहिबार राति भएको खेलमा चेल्सीले भिडी एफसीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो।
चेल्सीलाई जिताउन अल्भेरो मोराटाले निर्णायक गोल गरे। खेल अवधिभरी भिडीलाई दवावमा राखे पनि चेल्सीले गोल गर्न नसक्दा निकै संघर्ष गर्नुपरेको थियो। खेलको आठौं मिनेटमा इमर्सनको प्रहार क्रसबारमा लाग्दै बाहिरिएपछि चेल्सीले सुरूवाती अग्रता लिने मौका गुमाएको थियो।
यस्तै २३ औं मिनेटमा पेड्रोको कडा प्रहार भिडीका गोलरक्षक थोमस टुचभेलले उत्कृष्ट बचाउ गरेका थिए। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको चेल्सीले केही राम्रा अवसर खेर फालेको थियो। दोस्रो हाफ थप आक्रमण बुनेपछि चेल्सीले ७०औं मिनेटमा मात्र गोल गर्न सफल भएको थियो। विलियनको पासमा अल्भेरो मोराटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए।
यस्तै ७७ औं मिनेटमा इडेन हाजार्डको फ्रिकिक प्रहार पोस्टमा लागेर फर्किएको थियो। त्यसपछि थप गोल नहुँदा चेल्सी १–० को जित निकाल्न सफल भयो। योसागै लगातार दोस्रो जित निकालेको चेल्सी समूह ‘एल’ मा ६ अंकसहित समूहको शीर्ष स्थानमा छ। चेल्सीले यसअघि पाओक एफसीलाई हराएको थियो। एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १९ शुक्रबार
Comments