काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फूटबलमा सहज जित निकालेको छ। हिजो राति भएको समूह चरणको दोस्रो खेलमा आर्सनलले अजरबैजानको क्वाराबागलाई ३,० ले हराउँदै सहज जित दर्ता गरेको हो। आर्सनलाई जिताउन सोक्रटिस पापस्थोपौलोस, इमली स्मिथ रोवे र माट्टेओ गुएनडोजीले एक एक गोल गरेका थिए।
दोस्रो रोजाईका खेलाडीसहित मैदान उत्रेको आर्सनलले क्वाराबागलाई उसैको मैदानमा हराएको हो। आर्सनलले खेलको पाँचौ मिनेटमा सोक्रटिसले गोलबाट अग्रता बनाएको थियो। पहिलो हाफमा १(० ले अगाडि रहेको आर्सनल दोस्रो हाफमा थप दुई गोल गर्न सक्यो। खेलको ५३ औं मिनेटमा इमलीको गोलमा आर्सनलले अग्रता दोब्बर पार्यो।
त्यसपछि खेलको ८० औं मिनेटमा गुएनडोजीले गोल गर्दै आर्सनललाई ३ , ० को स्पष्ट जित दिलाए । यो जितसँगै आर्सनलले २ खेलबाट ६ अंक सहित शीर्ष स्थानमा छ। एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १९ शुक्रबार
Comments