काठमाडौं । म्यानचेस्टर सिटीले युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गरेको छ । सिटीले मंगलबार राति जर्मन क्लब होफेनहाइमलाई २–१ ले हराएर पहिलो जित निकालेको हो ।
समूह चरणको पहिलो खेलमा पराजित सिटीका लागि सर्जियो अग्युरो र डेभिड सिल्भाले एक एक गोल गरे । होफेनहाइमका इशक बेल्फोदिलले एक गोल गरे । होफेनहाइमले पहिलो मिनेटमै बेल्फोदिलको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको आठौं मिनेटमा सिटीका अग्युरोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । खेलको ७८ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीले २–१ ले खेल जित्यो ।
जितसंगै समूह एफ को सिटीले २ खेलबाट ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । सिटी पहिलो खेलमा लियोनसँग पराजित भएको थियो ।
यसै समूहको अर्को खेलमा लियोनले शख्तर डोनेस्कटसँग २–२ गोलको बराबरी खेलेको छ । यस समूहमा लियोन ४ अंक जोडेर शीर्ष स्थानमा छ । २ अंक जोडेको शख्तर तेस्रो र १ अंक जोडेको होफेनहाइम अन्तिममा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १७ बुधबार
Comments