काठमाडौं । स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले पछिल्लो समय आफ्नो टोलीको रक्षापंक्तिमा समस्या बढ्दै गएको बताएका छन् । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा इंग्लिस क्लब टोटनह्यामसँग खेल्नुअघि मेस्सीले अहिलेकै अवस्थामा बार्सिलोनालाई उपाधि जित्न कठिन हुने बताएका हुन् ।
बार्सिलोनाले ला लिगामा खेलेका पछिल्ला ३ तीन खेल जित्न सकेको छैन । उसले अवे मैदानमा एक खेल हार्दा घरेलु मैदानमा भएका २ खेलमा बराबरी गरेको छ । ती खेलमा पनि कमजोर रक्षापंक्तिकै कारण टोलीले नतिजा निकाल्न नसकेको मेस्सीको ठहर छ ।
‘गत सिजन हामीविरुद्ध विपक्षीलाई गोल गर्न हम्मे हुन गथ्र्यो । तर, यसपटक त्यस्तो छैन । हामी हरेक खेलमा गोल खाइरहेका छौं,’ कप्तान मेस्सीले भने, ‘तत्कालै हाम्रो रक्षापंक्तिमा सुधार आवश्यक छ ।’
अहिलेकै अवस्था रहने हो भने बार्सिलोनाले कुनै उपाधि जित्न नसक्ने मेस्सीको भनाइ छ । ‘हामीले तत्कालै कमजोरी सुधार्न प्रयास नगर्ने हो भने हामी सबै उपाधिबाट टाढा जानुपर्ने हुनसक्छ,’ उनले थपे ।
अर्को प्रसंगमा मेस्सीले टोटनह्यामविरुद्ध खेल्दा आफूहरूले रक्षापंक्तिमै बढी ध्यान दिनुपर्ने बताए । ‘उनीहरू ९टोटनह्याम० बलियो टोली हुन्, उनीहरू आक्रामक खेल खेल्छन् । तसर्थ, हामीले रक्षापंक्तिमा विशेष ध्यान दिनुपर्छ,’ मेस्सीले भने ।
बार्सिलोनाले भोलि बुधबार राति च्याम्पियन्स लिगमा टोटनह्यामसँग उसकै घरमा समूह चरणको दोस्रो खेल खेल्दैछ । यसअघि बार्सिलोनाले पहिलो खेलमा पिएसभीमाथि ४–० को जित निकालेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १६ मंगलबार
Comments