काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता बार्सिलोनाले यो सिजन राम्रो सुरुआत गर्न सकेको छैन । गत सिजन ३६ खेलमा शतप्रतिशत जित निकालेको उसले यसपटक सुरुआती ७ खेल खेलिसक्दा एक खेल हारिसकेको छ भने २ खेल बराबरी गरेको छ । अवे मैदानमा पाँचौं खेलमा लेगानेससँग हार्नु तथा आफ्नै घरमा जिरोना र एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिँदा बार्सिलोनाले लगातार ३ खेलमा जित निकाल्न सकेन । त्यसबाट उसले ७ अंक गुमायो ।
पछिल्लोपटक आफ्नो घरमा भएको बिल्बाओसँगको खेलमा बार्सिलोना मुस्किलले हारबाट बचेको थियो । सो खेलमा कप्तान मेस्सीलाई बेन्चमा राखिएको थियो । उक्त खेलपछि मेस्सीले प्रतिक्रिया दिएका छन् ।
स्पेनका स्थानीय मिडियासँग कुरा गर्दै उनले आफूहरू अहिले सिजनको सुरुआतमा रहेकाले धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । ‘हामी अझै पनि सुरुआती चरणमै छौं, अहिले नै हामी निराश भइहाल्नुपर्ने अवस्था छैन,’ मेस्सीले भनेका छन्, ‘आगामी खेलबाट हामी आफ्नो लयमा फर्किन कोसिस गर्नेछौं ।’
मेस्सीले अघि थपे, ‘लगातार ३ खेल जित्न नसक्नु हाम्रा लागि नसोचेको नतिजा थियो ।’ मेस्सीले आगामी खेलमा आफूहरूलाई गल्ती गर्ने कुनै ठाउँ नरहेको पनि बताए । बार्सिलोनाले बुधबार राति च्याम्पियन्स लिगमा समूह चरणको दोस्रो खेल खेल्दैछ । उक्त खेलका लागि बार्सिलोना इंग्लिस क्लब टोटनह्यामविरुद्ध उसकै घरमा उत्रिने छ । बार्सिलोनाले यसअघि भएको पहिलो खेलमा नेदरल्यान्ड्सको क्लब पिएसभीलाई ४–० ले हराएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १५ सोमबार
Comments