काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो मड्रिड डर्बी गोलरहित बराबरीमा सकिएको छ । गत राति भएको खेलमा रियल मड्रिड र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेलेका हुन् ।
रियलको घर सान्टियागो बेर्नाबेउमा भएको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा उनीहरूले महत्त्वपूर्ण खेलबाट अंक बाँडे । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि उनीहरूले परिणाम निकाल्न भने सकेनन् ।
रियल मड्रिडले पछिल्ला २ खेल जित्न सकेन । त्यसक्रममा उसलाई गोलको खडेरी देखिको छ । अघिल्लोपटक अवे मैदानमा सेभिल्लासँग ३–० ले हार्दा पनि रियल गोलविहीन बनेको थियो भने घरमा भएको यस खेलमा पनि उसले गोल गर्न सकेन । यो सिजन उसले १२ गोल मात्रै गरेको छ, जुन पहिलो स्थानको बार्सिलोना र तेस्रो स्थानको सेभिल्लाको भन्दा कमी हो ।
रियल र एथ्लेटिको बराबरीमा रोकिँदा त्यसको फाइदा पहिलो स्थानको बार्सिलोनालाई पुग्यो । बार्सिलोना पनि गत राति आफ्नो घरमा पाहुना टोली एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको अवस्थामा रियल र एथ्लेटिकोलाई खेल जितेर शीर्ष स्थानमा उक्लिने मौका थियो ।
तर, दुवैले स्पष्ट जित निकाल्न नसक्दा उनीहरूले शीर्ष स्थान लिने मौका गुमाए । जसबाट बार्सिलोना रियल मड्रिडसँग समान १४ अंक भए पनि गोलअन्तरमा अघि रहँदै सिरानमा रहन सक्यो ।
हाल अंक तालिकामा बार्सिलोना सिरानमा हुँदा समान १४ अंकसहित रियल दोस्रो तथा १३ अंक भएको सेभिल्ला तेस्रो स्थानमा छ । १२ अंक भएको एथ्लेटिको भने तेस्रो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १४ आइतबार
Comments