काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब आर्सनल कारबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । आर्सनलले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गर्दै कारबाओ कपको चौथो चरणमा पुग्न सफल भएको हो । आर्सनलका लागि ड्यानी वेलब्याकले दुई र एलेक्सजेन्डर लाकाजेट्सले एक गोल गरे । ब्रेन्टफोर्डका लागि एलेन जजले एक गोल फर्काए ।
खेलको पाँचौ मिनेटमा नै आर्सनलले ड्यानियल वेल्बेकको गोलबाट खेलमा अग्रता बनाएको थियो । ३७ औं मिनेटमा वेलब्याकले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा आर्सनल २–० ले अघि रह्यो । ५८औं मिनेटमा एलज जजले गोल गरेपछि ब्रेन्टफोर्डले खेलमा फर्कने संकेत दिएका थिए । तर, ९०औं मिनेटमा लाकाजेटले गोल गर्दै टिमलाई ३–१ को जित दिलाए ।
यस्तै टोटेनहमले पनि चौथो चरणमा स्थान बनाएको छ । वाट्फोर्डसँग २–२ गोलको बराबरी खेलेको टोटेनहमले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै चौथो चरणमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा टोटनहमले ४–२ ले बाजी मारेको हो ।
खेलको ४६ औं मिनेटमा इसाक सक्सेसले गोल गर्दै वाटफोर्डलाई अग्रता दिलाएका थिए । ८१ औं मिनेटमा डेले अलीले पेनाल्टीमार्फत गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । ८६ औं मिनेटमा इरिक लमेलाले गोल गरेपछि टोटनहम खेलमा २–१ ले अघि बढेको थियो । तर, ८९औं मिनेटमा इटिनेले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
पेनाल्टी सुटआउटमा टोटनहमका ह्युङ मिन सन, इरिक लमेला, मार्को लोरेन्ट र अलीले गोल गरे । वाटफोर्डका सक्सेस र इटिनेले मात्र गोल गर्न सफल भए । अन्य खेलमा नथिङघम फरेस्टले स्टोक सिटीलाई ३–२ ले र वेस्टह्याम युनाइटेडले म्याकल्सफिल्ड टाउनलाई ८–० ले हराए । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ११ बिहिबार
Comments