काठमाडौ । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार टोली एथ्लेटिको मड्रिडले शानदार जित दर्ता गरेको छ । लिगको छैटौं हप्ताको खेलअन्तर्गत गत राति आफ्नो घरेलु मैदानमा भएको खेलमा मड्रिडले पाहुना टोली हुएस्कामाथि ३–० को जित निकाल्यो । हुएस्का यसै सिजन मात्रै सेगुन्डा लिगबाट ला लिगामा बढुवा भएको टोली हो ।
मड्रिडलाई आफ्नो घरमा शानदार जित दिलाउन खेलको १६औं मिनेटमा स्टार फरवार्ड एन्टोनी ग्रीजम्यानले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको २९औं मिनेटमा थोमस पार्टीले गोल गरेर अग्रता २–० बनाए ।
त्यसपछि दोस्रो गोल गरेको ४ मिनेटपछि नै हुएस्काले तेस्रो गोल खायो । उक्त गोल ३३औं मिनेटमा कोकेले गरेका थिए । तब मड्रिडले पहिलो हाफमा ३–० को अग्रता लियो । दोस्रो हाफमा दुवै पक्षबाट कुनै गोल हुन सकेन । र, खेल मड्रिडले ३–० ले जित्यो ।
यो जितपछि एथ्लेटिकोले ६ खेलबाट ११ अंक जोडेको छ । र, ऊ लिगको तेस्रो स्थानमा चढेको छ । पराजित हुएस्का लिगको १८औं स्थानमा छ । उसले ६ खेलबाट मात्रै ४ अंक जोडेको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १० बुधबार
Comments