काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा बंगलादेशले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा अफगानिस्तानलाई ३ रनले हराएर बंगलादेशले फाइनल पुग्ने सम्भावना जिवितै राखेको हो । शेख जायद क्रिकेट स्टेडियममा बंगलादेशले दिएको २५० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अफगानिस्तानले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २४६ रन मात्र जोड्न सक्यो ।
अफगानिस्तानका हास्मतउल्लाह शाहिदी र मोहमद शाहजादले अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन । शाहिदीले ७१ तथा शाहजादले ५३ रन जोडे । यस्तै कप्तान अस्घर अफगानले ३९ रन जोड्दा मोहमद नाबीले ३८ रन बनाए । बंगलादेशका माश्रफ मोर्टाजा र मुस्ताफिजुर रहमानले २ २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २४९ रन जोडेको थियो । बंगलादेशका लागि ममुदुल्लाह ७४ रन जोड्दा इम्रुल कायेसले अविजित ७२ रनको अर्धशतकीय इनिङस खेले । यस्तै लिटोन दासले ४१ रन जोडे । फगानिस्तानका अफ्ताब आलमले ३ विकेट लिए । अन्तिम सुपर फोरको खेलमा मंगलबार अफगानिस्तानले भारतसँग र बंगलादेशले पाकिस्तानसँग खेल्नेछन् ।
प्रकाशित मितिः २०७५ असोज ८ सोमबार
Comments