काठमाडौं । एएफसी सोह्र वर्षमुनि यू–१६० महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ई’ को उपाधि म्यानमारले हात पारेको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बल एपिएफको मैदानमा आज भएको छनोट चरणअन्तर्गतको अन्तिम खेलमा म्यानमारले फिलिपिन्सलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ई’ को उपाधि रक्षा गरेको हो।
तीन खेल खेलेको म्यानमार ९ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो। उपाधिसहित म्यानमारले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गरेको छ। यता ६ अङ्क जोडेको फिलिपिन्स पनि समूह ‘ई’ मा दोस्रो हुँदै थाइल्याण्डको यात्रा तय गर्यो।
समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्ने छन् । त्यस्तै नेपाल र मलेसिया भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्। आज अपराह्नमा हुने खेलमा दुवै टोली प्रतिष्ठाका लागि मात्र भिड्नेछन्। समूह ‘ई’मा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स सहभागी छन्। एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ७ आइतबार
Comments