काठमाडौं । अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरोले क्लब म्यान्चेस्टर सिटीसँग सम्झौता लम्ब्याएका छन् । सिटीका लागि सर्वाधिक गोलकर्तासमेत रहेका अगुइरो अब नयाँ सम्झौताअनुसार सन् २०२१ सम्म सिटीमै रहनेछन् । अगुइरो सिटीका सर्वाधिक गोलकर्ता हुन् । उनले गत सिजनको नोभेम्बरमा इरिक ब्रोक्सको नाममा रहेको ७८ वर्ष सर्वाधिक गोलकर्ताको रेकर्ड भंग गरेका थिए ।
अब नयाँ सम्झौताअनुसार अगुइरोले साप्ताहिक २ लाख २ हजार पाउन्ड तलब पाउनेछन् । सम्झौताक्रममा अगुइरोले आफू सिटीमा खुसी रहेको पनि बताएका छन् । ‘क्लबले मलाई अहिले पनि त्यही सम्मान दिएको छ, जुन सम्मान पहिलो दिन पाएको थिएँ,’ अगुइरोले भनेका छन् ।
अर्जेन्टिनी अगुइरो सन् २०११ मा सिटीमा अनुबन्ध भएका थिए । पछिल्लो समय उनले सिटी छाड्न सक्ने चर्चाबीच पुनः सम्झौता थपेका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ६ शनिबार
Comments