काठमाडौं । बार्सिलोनाका प्ले मेकर फिलिपे कोउटिन्होले आफ्नो टोलीका सुपरस्टार तथा कप्तान लिओनल मेस्सीको तारिफ गरेका छन् । उनले मेस्सी सधैं टिमका लागि मुख्य हतियार हुने गरेको भन्दै मेस्सीले मैदानमा सधैं फरक गरेर देखाउने पनि बताए ।
बार्सिलोनाले पछिल्लोपटक युरोपियन च्याम्पियन्स लिग फुटबलमा नेदरल्यान्ड्सको क्लब पिएभसीलाई ४–० ले हराउँदा मेस्सीले ह्याट्रिक गरेका थिए । ‘मेस्सी टोलीका मुख्य सदस्य हुन्, जो उनले साबित गर्दै आइरहेका छन्,’ कोउटिन्होले बार्सिलोनाको अफिसियल मिडियासँग कुरा गर्दै भने, ‘उनले अक्सर मैदानमा केही न केही नयाँ गरिरहेका हुन्छन्, मलाई यो मन पर्छ ।’
कोउटिन्होले मेस्सीको प्रशंसा गर्न आफूसँग कुनै शब्द नरहेको भन्दै मेस्सी अवर्णनीय रहेको बताए । ‘मेस्सीको खेल कौशल र क्षमताको वर्णन गर्न म सक्दिनँ,’ उनले भने ।
अन्तर्वार्ताक्रममा कोउटिन्होले आफू ठूला उपाधि जित्न बार्सिलोना आएको पनि बताए । ‘म यहाँ पैसा कमाउन मात्रै आएको हैन, ठूला खेल खेल्न र ठूला उपाधि जित्न आएको हु,’ उनले भने, ‘म टोलीलाई ठूला उपाधि जिताउन सघाउने छु ।’ बार्सिलोनाले २६ वर्षीय कोउटिन्होलाई गत सिजनको जनवरी विन्डोमा लिभरपुलबाट १ सय ६२ मिलियन युरोमा खरिद गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ६ शुनिवार
Comments